Tuesday, April 14, 2020

आजको शिक्षा ,भोलिको विश्व

कैलाश  कार्की 

द्रुतगतिमा अगाडि वड्दै गैरहेको विश्व बजारलाई आवश्यक पर्ने जनशक्ति परिपूर्ति गरिरहन  हाम्रा शैक्षिक सस्था / विश्वविधालयहरु सक्षम छन ?  प्रविधिको तिब्र विकासले भोलिको बजारलाई आत्मसाथ गर्दै अगाडि बड्न सक्ने जनशक्ति उत्पादन आज चुनौतिको रुपमा खडा भएको छ।  आर्टिफ़िसियल इन्टिलेजेन्स , मेसिन लर्निङ्ग, रोबोटिक्स  जस्ता प्रविधिको प्रयोगले उधोगहरु स्वचालित उधोगको  रुपमा परिणत हुदैछन, जसको फलस्वरूप आवश्यक जनशक्तिको माग घट्दो छ।  अब स्वभाविक प्रश्न  उठ्न सक्छ आर्टिफ़िसियल इन्टिलेजेन्स  लगायतका नया  प्रविधिले  हामी सबैलाई बेरोजगार त बनाउदै छैन ? केहि हदसम्म यो साचो , हामीले गरिरहेका कामहरु स्वोचालित हुनेछन  र मानिसले अर्को अवसर चाहर्नुपर्ने/ खोज्नुपर्ने बाध्यता आउनेछ।  अनुसन्धानहरुले देखाए अनुसार प्रविधिको प्रयोग ले जति मानिसहरुले आफ्नो रोजगारी गुमाईरहेका छन त्यो भन्दा धेरै संख्यामा नया रोजगारहरु सिर्जित भैरहेका छन। वर्ल्ड इकोनोमिक फोरम ले गरेको अनुसन्धान अनुसार  प्रविधिको तिब्र प्रयोगले गर्दा सन् २०२२ सम्म विश्वभर करिब पचहत्तर करोड मानिस आफ्नो रोजगार गुमाउने छन भने झन्डै एक अर्ब तेत्तिस करोड नया रोजगार सिर्जित हुनेछन।  तर नया सिर्जित रोजगारको हकमा उच्च प्राबिधिक क्षमताको आवश्यक पर्ने देखिन्छ।  यसबाट के प्रष्ट हुन्छ भने मानवजाति जिन्दगिभर एउटै रोजगारमा सिमित भएर जीवनयापन गर्ने सुबिधाबाट बिमुख हुनुपर्नेछ  र नया काम को लागि आवश्यक क्षमता विकासको निमित्त तत्त्पर रहनुपर्दछ। इतिहासविद युभल नोहा हरारीको शब्द  सापट लिएर भन्नुपर्दा मानवजातिले आफ्नो जीवनलाई     जीवनकाल भर पटक पटक नया नया सिप बाट पुनर्ताजगी (reinvent) गराउन सके मात्र यो चलायमान विश्वमा अटाउन सजिलो हुन्छ।
अब बहस  हुनु जरुरी छ कि भोलिको चलायमान विश्वमा  खपत हुन सक्ने जनशक्ति उत्पादन गर्न परम्परागत पाठ्यक्रममा सिमित हाम्रो शिक्षा पद्धती सक्षम छ ? सोचनीय यो छ कि आज जन्मेको बच्चालाइ कस्तो खालको शिक्षा दिने ताकि उ सन् २०४५/२०५० तिरको विश्वमामा  सजिलै जीवनयापनको लागि सक्षम हुनेछ।  सन् २०५० तिरको विश्व कस्तो हुनेछ, अन्दाज लगाउन कठिन छ।  यतिमात्र भन्न सकिन्छ कि समाज, अर्थतन्त्र तथा सरकारी सेवा वितरण प्रणाली अहिलेको भन्दा निकै फरक हुनेछ। विश्व प्रबिधिमय हुदै गैरहेको परिप्रेक्ष्यमा  कुनै एउटा खास प्रबिधिमा मात्र  आधारित रहेर शिक्षा दिदा २० बर्षपछी सो प्रबिधिलाइ  अर्को नया प्रविधिले बिस्थापित गरिसक्ने चुनौती थपिदिएको छ। यसरि हेर्दा के  देखिन्छ भने पाठ्यक्रमको परिवर्तन नगरी परम्परागत शिक्षण पद्धतीमा सिमित रहदा बिश्व बजार एकातिर, हामि अर्कैतिर हिडिरहेको हुनेछौ जसले गर्दा  हाम्रा उत्पादित ग्र्याजुयटहरुलाइ  लय समात्न  कठिन हुनेछ। पाठ्यक्रमको ढाचा परिवर्तन नितान्त आवश्यक छ तर अबको पाठ्यक्रममा कस्ता विषयहरु समावेश गर्ने भन्ने सन्दर्भमा व्यापक  चिन्तनको को खाचो छ।  शिक्षाविद्हरुले  नितान्त्त प्राबिधिक क्षमता अभिवृद्धिमा मात्र ध्यान दिनु को सट्टा अवको पाठ्यक्रममा बिश्लेषणात्मक सोचाई , समुगत कार्य , संचार कौशलता  र सिर्जनशिलता जस्ता शिर्षकहरुको प्रवेशलाइ जोड दिदै आएका छन्।फलस्वरूप उत्पादित जनशक्तिले विश्वमा  हुने परिवर्तन लाइ आत्मसाथ गर्दै अगाडि बड्ने क्षमता राखून।  कुनै विषयवस्तुको सतही ज्ञानभन्दा बिध्यर्थिहरुलाई नया कुरा चाडै सिक्न सक्ने गरि प्रशिक्षित गराउन सकेको खण्डमा अहिलेका बिद्यार्थीहरुले भविष्यमा आइपर्ने जटिलतालाइ सजिलै चिर्न सक्दछन। मानसिक लचकता र भावनात्मकरुपमा आफु सन्तुलित हुन सकियो भने मानवजातिले जिवनभर नया कुरा सिक्न सक्ने क्षमता राख्दछ। अबको विश्व बजारलाई विषयवस्तु अथवा कुनै खास प्रबिधिमा दखल भएको मान्छे मात्र होइन कि नया कुरा चाडै सिक्न सक्ने, परिवर्तनलाइ आत्मसाथ गर्ने सक्ने जनशक्ति को खाचो छ।  माथिको बिश्लेषणवाट बिद्यार्थी भाइ बहिनिले यो नबुझिदिनुहोस कि हामीले पढिरहेको  कुरा भविष्यमा काम नलाग्ने रहेछ , किन पढिरहनु ? आफ्नो अध्यन लाइ निरन्तर राख्नुस साथसाथै  भविष्यमा आइपर्न सक्ने चुनौतीलाइ सामना गर्न पनि आफुलाई तत्पर बनाउनुहोस। जुनसुकै कुरा पनि सिक्न मानसिक रुपमा आफुलाई तयार बनाउनुनै आजको आवश्यकता हो। आजभन्दा २० वर्ष अघि फर्केर हेर्दा विश्वमा एप डेभलोपर ,डाटा  साइन्टिस्ट, डिजिटल  मार्केटिंग  म्यानेजर जस्ता रोजगारहरु थिएनन तर आज यिनीहरुको माग धेरै छ।   भविष्यमा पनि अहिले मानिसले गरिरहेका केहि कामहरु स्वचालित हुनेछन , सथासाथै नया कामहरु पनि सिर्जित हुनेछन।  आफुलाई नया काम मा रुपान्तरण गर्नका निमित्त मानिस सग नया कुरा सिक्न सक्ने क्षमता र नया वातावरण  सग  घुलमिल हुन सक्ने क्षमता आवश्यक छ नै। 
परिवर्तनलाई आत्मसाथ गर्ने सक्ने गतिशील जनशक्ति उत्पादनको निमित्त वर्तमान शिक्षण पद्धतीको आमुल परिवर्तन आवश्यक छ।  यसका लागि पाठ्यक्रममा सुधारको साथसाथै शिक्षण पद्धती सुधारमा अग्रभागमा रहेर काम गर्ने शिक्षकहरुले नै सर्बप्रथम परिवर्तनलाइ आत्मसाथ गर्दै सो अनुरुप विद्यार्थीलाइ प्रशिक्षित गराउदै लैजानुपर्ने देखिन्छ। शिक्षकहरुले  कुनै विषयवस्तु ज्ञाताको भूमिकामा मात्र सिमित नभई उत्प्रेरकको भूमिका पनि निभाउनु आवश्यक छ। अब आउने पुस्तालाई  के सिक्ने भन्दा पनि  कसरि सिक्ने भन्ने ज्ञान दिन सकियो भने  उनीहरुलाई संसारमा आइपर्ने प्राबिधिक जटिलता लाइ सजिलै चिर्न सक्नेछन ।

नोट : यो लेखको सम्पादित अंश  Engineersnepal.com मा  "प्राबिधिक बजारअनुसार विश्वविधालयहरुले जनशक्ति उत्पादनमा जोड दिनुपर्छ" भन्ने शिर्षक मा प्रकाशित छ।
सुझाब तथा सल्लाहका लागि kailashk@nec.edu.np मा इमेल गर्न सक्नुहुनेछ।








No comments:

Post a Comment